Mero Chitwan
शालिनको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

चितवन : चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आज  चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् ।

शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । पोस्टमार्टममा संलग्न चिकित्सकले बलात्कार पुष्टि नभएको र कन्याजाली नच्यातिएको खुलेको बताए। 

कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा  ‘ह्याङ्गिङ’ भनेर लेखिएको छ । 

पीडित परिवारले उनको यौनांगमा चोटपटक रहेको दाबी गर्दै आएका थिए । तर, पोस्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठुलो चोटपटक देखिएको छैन ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । 

घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा नोटमा उनले लेखेकी छन्, ‘मलाई सबैले माया गर्नु है ।’ उनले –‘सरी एभ्रिबडी, सरी ममी ड्याड ।’ भनेर पनि लेखेकी छन् । 

गोरखा घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update