Mero Chitwan
कविता : तिमी त !

 तिमी त अब देउता भयौ रे 
देउतालाई जति ढोगे पनि
जति फूल प्रसाद अक्षता 
धजा धागो र माला चढाए पनि
जति आलाप बिलाप गरेर रोए पनि
अश्रु धाराको नदी नै बगाए पनि
हाँस कुखुरा चराचुरी बोका राँगो त के
मानव बलि दिए पनि
जति रोइकल्याई गरेर प्राणै त्यागे पनि
कुनै धर्म सम्प्रदाय जात जाति
मठ मठाधिश र पीठ पीठाधिश
कुनै पनि देउताबाट कहिँ  कतै र कहिल्यै 
कुनै पनि प्रतिक्रिया आउदैन
देउताबाट जवाफ आएको थाहा छैन।

                    ।।१।।

हाम्रो आस्था विश्वास लगाव भरोसा
र विश्वब्यापी मान्यता मात्र न हो
तर देउताले पीडा व्यथा वेदना र आर्तहरू
कहिल्यै देख्दैनन्, सुन्दैनन्
देउताको अगाडि आँशुको कुनै मूल्य छैन
देउताले यो धर्तीका प्राणीहरुको 
पीडा त्याग तपस्या दु:ख भोक तिर्खा 
र मानवीय सम्बेदना बुझेको थाहा छैन
बरू हामी नै ढुङ्गालाई कुद्छौ
आकार र आकृति दिन्छौ
देउतालाई थानमान बिशेष दिन्छौ
देउताको नामाकरण गर्छौ
देउताको अगाडि गलत सोच्दैनौ,अनिष्ट गर्दैनौ
अनि तिनै देउताको अगाडि निहुरिन्छौ
ढोग्छौ फूल अक्षता धुप धजा चढाउछौ
आशीष माग्छौ वर माग्छौ।
देउतासित डराउँछौ
यो नै हाम्रो आस्था लगाव 
र विश्वासको धरोहरो हो।

                 ।।२।।

हो त्यसै गरी, देउताले जसै गरी
तिमी पनि किन आजकल प्रतिक्रिया बिहिन छौ
सायद तिमी त अब देउता भयौ
तिमीसग मेरो जीवनले के माग्छ र के भन्छ
मैले फिटिक्कै जान्न र बुझ्न सकिन
तिमी बिना मेरो मुटुले काम गर्न छोड्छ
अनि कस्तो विलक्षण गुण तिमीमा छ
तिम्रो पाउले कुल्चेको माटोको सुगन्ध
तिमीले तरेको खोलाको जल
तिम्रो छायाँले दिएको मधुरतम शितलता
तिम्रो रेशमी कपाललाई फुर्फुराउँदै
आको नशालु बतासको हल्का स्पर्श 
तिम्रो काखीको तरक्क चुहिने
ठुस्स अमिलो गन्ध
तिम्रा नयनका परेलीबाट छचल्किने
ती अद्भूत मोती दाना
यी सबै सबै
मलाई लठ्ठाईदिने र मादक लाग्छ
त्यसैले धर्ती र आकाश जोडन मन लाग्छ
अनि सुटुक्क तिमीलाई छुन मन लाग्छ
ताकि कसैले पत्तै नपाओस
तर के गर्नु तिमी त देउता भयौ।
                ।।३।।

पाणिनी-७, अडगुरी 

अर्घाखाँची।

 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update