Mero Chitwan
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ : जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । 

 जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने निर्णय गरेको हो । 

 प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई सात दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ । 

 सोअनुसार दर्ता भएका एम्बुलेन्सले १५ दिनभित्र जिपिएस प्रणाली जडान गरी त्यसको जानकारी जनस्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो । विवरण दर्ता नगर्ने र जिपिएस जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाइने समितिले जनाएको छ ।

 भाडादर र पार्किङ व्यवस्थापनका लागि जनस्वास्थ्य कार्यालय प्रमुखको संयोजकत्वमा ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, एम्बुलेन्स चालक सङ्घ र भरतपुर महानगरपालिका सम्मिलित उपसमितिले सिफारिस गरेको भाडादर अनुसार मात्र सेवा सञ्चालन गर्नुपर्ने निर्णय भएको प्रजिअ अर्यालले बताउनुभयो । बिरामीसम्बन्धी स्वास्थ्य संस्था पुर्‍याइसकेपछि एम्बुलेन्स तत्काल आफ्नो कार्यक्षेत्रमा फर्कनुपर्ने र अस्पताल वा स्वास्थ्य संस्था परिसरमा अनावश्यक पार्किङ गरी अन्य एम्बुलेन्सलाई अवरोध पुर्‍याएमा कारबाही गर्ने निर्णय भएको उहाँले उल्लेख गर्नुभयो ।

बिरामीलाई समयमै अस्पताल पुर्‍याउन र एम्बुलेन्सको सही अवस्थिति थाहा पाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्लाको पूर्वी भाग भण्डारा र मुग्लिङ खण्डमा स्वास्थ्यकर्मीसहित एक/एक वटा ‘डेडिकेटेड एम्बुलेन्स’ २४सै घण्टा परिचालन गरिने भएको छ । ती एम्बुलेन्स चालकको नाममा छुट्टाछुट्टै टोलफ्री नम्बर उपलब्ध गराइनेछ ।

यस्तै, २४सै घण्टा खटिने चालकको खाजा, खाना र चिया खर्चका लागि चितवन र रत्ननगर उद्योग वाणिज्य सङ्घलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले बताउनुभयो । चालक र स्वास्थ्य संस्थाबीच हुनसक्ने अनावश्यक मिलेमतो वा गोप्य कारोबार रोक्न एम्बुलेन्स चालक सङ्घ र स्वास्थ्य संस्थाले संस्थागत पहल गर्ने निर्णय भएको छ । जिल्लाभरका एम्बुलेन्सले निर्देशिका बमोजिम अनिवार्य रूपमा यान्त्रिक जाँच गराउनुपर्ने र चालकले अनिवार्य रूपमा पोसाक लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी अर्यालले निर्णय कार्यान्वयनमा जोड दिँदै भन्नुभयो, “यी निर्णयहरू कार्यान्वयन भएपछि हामीले अपेक्षा गरेभन्दा सकारात्मक परिवर्तन हुन्छन् । नागरिक तथा बिरामीले सहज रूपले सेवा पाउनेछन् ।” उहाँले चितवनको एम्बुलेन्स सेवालाई गुणस्तरी र प्रभावकारी बनाउने उद्देश्यले गरिएका यी निर्णयले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update