Mero Chitwan
कविता : मैले बुझेँ

धेरै समय पछि बुझेँ
हजुरबाहरू सकिएछन्
बाहरू दिनप्रतिदिन सकिदैछन्
र हामीहरू पनि सकिने बाटो समात्दैछौं ।

धेरै समयपछि बुझेँ
जिन्दगीको आधाबाटो हिडेपछि ;
बिपनाको अत्यासले सपना आउँदैनन् 
पखेटा काटेका लक्ष्यहरू उड्न सक्दैनन्
गलेको कायामा जाँगर र आँटले बास गर्दैनन् ।

धेरै समयपछि बुझेँ
नाङ्लोको पखेटा राखेर उड्न खोजेको रहेछु
हावा भरिएको बेलुन जस्तै उचाइमा पुगेछ्को रहेछु
ईर्ष्या र रिसको पङ्ग्राले गुडेको रहेछु
बस् ! म त कृतिम हड्डीमा रमाएको रहेछु ।

धेरै समयपछि बुझेँ
बा र हजुरबाहरूले
उर्वर जमिन छाडे
स्वच्छ हावा छाडे
कञ्चन पानी छाडे
म सोच्दैछु, मैले के लिदैँछु?
मैले के छाड्दैँछु ?

धेरै समयपछि बुझेँ
भावना र प्रेममा रासायनिक प्रतिक्रिया भएछ
म पीडा  रहित प्रेममा छु
यो भन्दा ठूलो पीडा के होला?
कि प्रेममा कुनै पीडा रहन्न ।

धेरै समयपछि बुझेँ
सपनामा दृश्य नहुनु
बिपनाको अङ्कुरण रोकिनु
गन्तव्यको पहिचान गर्न नसक्नु
सम्बन्धको महत्व सकिनु
बस्! मृत्युको  व्यग्र प्रतीक्षा  गर्नु रहेछ !

धेरै समय पछि बुझेँ
मैले नयाँ पुस्तालाई 
अटालीमा एक गाग्री आक्रोशको तेजाब छोडेँ
आफ्नो पहिचान गुमाएर संसार हेर्ने आँखा छोडेँ
इमान र चतुर्‍याइँ जोख्ने पैसाको  बिटा छोडेँ

धेरै समय पछि बुझेँ
मेरा करणले
मेरा सन्तानहरू सुख बिनाको
भौतिक विलासको खोजीमा भौँतारीरहेका छ्न् ।

©माधव बिडारी "चेतनपथ"

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update