Mero Chitwan
एकता शिशु निकेतनमा बालिकाको बलात्कारपछि हत्या भएको परिवारको दाबी

काठमाडौं–चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत बालिका शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको दाबी परिवारले गरेका छन् । 

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै परिवारले शालिनको बलात्कारपछि हत्या गरेको दाबी गरेका हुन् । शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनास्थलको वस्तुस्थिति हेर्दा उक्त घटना आत्महत्या नभएर बलात्कारपछि हत्या भएको उनको दाबी छ ।

बालिकाका पिताले पत्रकार सम्मेलनमा भने, ‘शव झुण्डिएको अवस्था र त्यहाँका वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने दावी अस्वाभाविक र अपत्यारिलो देखिन्थ्यो ।’ घटनापछि सो विद्यालयमा गई मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी रुममेट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौंभन्दा प्रहरीले स्कुल परिसरभित्रै आफ्ना भाइलाई निर्घात कुटपिट गरेको उनको भनाई छ। 

ekata-sisu-niketan-1708964987.JPG

आफू काठमाडौंमा भएको बेला उक्त घटना भएको जानकारी विद्यालयबाट आएको र आफू नआईकन कुनै पनि प्रक्रिया अगाडि नबढाउन आग्रह गर्दा पनि प्रमाण नष्ट गराउने मनसायले विभिन्न क्रियाकलाप गरिसकेको उनको दाबी छ । आफू त्यहाँ पुग्नुभन्दा पहिले नै घटना भएको छात्रावासको ढोका फोडिएको र घटना भएको ठाउँमा सरसफाई गरिएको उनको भनाइ छ । साथै, शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा आफूले फेला पारेको र उक्त कुराको भिडिओ फुटेज आफूसँग सुरक्षित रहेको उनले बताए । ती सबै काम प्रमाण नष्ट पार्ने उद्देश्यले भएको उनको भनाइ छ ।

विद्यालयका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले नाम हटाएर ल्याउन भनेको उनले बताए । 

विभिन्न दबावका बीच उक्त घट्नामा चार दिनपछि प्रहरीले जाहेरी लिएको परिवारले जनाएको छ । मृत्तक शालिनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन आफूले शवबाहनमा ल्याएको र पोस्टमार्टम भए पनि शव अहिलेसम्म नबुझेको उनले बताए । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update