Mero Chitwan
एकता शिशु निकेतनमा छात्रा मृत फेला : परिवारले दिए प्रधानाध्यापकसहित तीन जनाविरुद्ध जाहेरी

चितवन- रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतनको छात्रावासमा झुण्डिएको अवस्थामा ८ कक्षाको छात्रा मृत भेटिएको घटनामा परिवारजनले विद्यालयका प्राचार्यसहित तीन जनाविरुद्ध जाहेरी दर्ता गरेका छन् ।

गोरखा घर भइ रत्ननगर- १५ स्थित मामाघरमा बसी अध्ययन गर्दै आएकी १४ वर्षीया शलिन पोखरेल शनिबार बिहान मृत भेटिएकी थिइन् । छात्राबासमा रहेको आफू बस्ने कोठाको सिलिङ फ्यानमा स्काउटको डोरीले झुण्डिएको अवस्थामा मृत भेटिएकी उनको परिवारले छोरीको हत्या भएको आरोप लगाउँदै प्रहरीमा जाहेरी दर्ता गराएका हुन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय चितवनमा विद्यालयका प्राचार्यसहित तीन शिक्षकविरुद्ध किटानी जाहेरी दर्ता गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेश रिमालले मृतकका बाबु दीपेन्द्र पोखरेलले जाहेरी दिएको बताए ।  किटानी जाहेरीमा विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक र छात्रावास वार्डेनलाई विपक्षी बनाइएको छ ।  उनीहरु तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालिकाको आमा र बुबाबीच दश वर्षअघि सम्बन्ध विच्छेद भएको थियो । आमाको संरक्षणमा रहने गरी अदालतले सम्बन्ध विच्छेदको आदेश गरेका कारण उनी आमाको संरक्षणमा मामाघरमा बसेकी थिइन् । विद्यालयको लापरबाहीका कारण आफ्नो छोरीको ज्यान गएको भन्दै उनीहरुले विद्यालयको पठनपाठन पनि रोकेका छन् । किटानी जाहेरी दर्ता भएपछि शव जिम्मा लिएर पोष्टमार्टम र अन्य अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update