Mero Chitwan
बाबुराम पोखरेलका मुक्तक


१.
हावामाथि हाउगुजीले काउकुतीको डङ्का पिट्छ 
अल्छे तिघ्रो सुतीसुती अनुभूतिको डङ्का पिट्छ 
भँगेरीको बलबुता खुट्टी हेर्दै थाहा हुन्छ भनेझैं, 
कटेरामा ढोडको खाबो, मजबुतिको डङ्का पिट्छ । 
२. 
मेरो भोलि सम्झदैमा चिन्तनको आभाष पर्छ 
अनिश्चय झेल्नुपर्दा मनमा ठूलो त्रास पर्छ 
कहालीको भूमरीमा राति म निदाउँ कसरी 
ढुङ्गा लड्ने भिरमुनि जहिले मेरो वास पर्छ । 
३. 
चेतनाको खराब तत्व यो मान्छेको जातभित्र 
रुमल्लिएको देख्छु सारा शक्तिको पक्षपातभित्र 
मेरा मित्रभित्रै मित्रताको खोजी गर्दा थोरै पाएँ
आत्मीयता भेट्नै गाह्रो कुमान्छेको जमातभित्र ।
 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update