Mero Chitwan
मोटोपनले प्रभावित पार्छ प्रजनन क्षमता 

मोटोपनको समस्या विश्वमा भयावह रुपमा बढिरहेको छ । सन् २०१९ को विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार विश्वका ५ वर्ष मुनिका ३ करोड ८२ लाख बालबालिकाहरु मोटोपनको शिकार भएका थिए । तीमध्ये आधाजति एसियाली मुलुकका हुन् ।

२०१६ मा १८ वर्षमाथिका झण्डै २ अर्ब मानिस बढी तौलका थिए, जसमा ६५ करोड मानिसमा मोटोपनको समस्या थियो । अमेरिकामा १० मध्ये चार जना मोटोपनको समस्याबाट पीडित छन् । वर्ल्ड ओबेसिटी फेडेरेसनले सन् २०३० सम्मा विश्वमा ५ महिलामध्ये एक जना र सात पुरुषमध्ये एक जना मोटोपनाको समस्याबाट पीडित हुने आकलन गरेको छ । 

मोटोपनले मुटु रोग, मधुमेह, अनिद्रा, क्यान्सर र उच्च रक्तचाप जस्ता समस्या निम्त्याउन सक्छ । यतिमात्र नभई मिर्गौला र कलेजोको समस्या पनि हुनसक्छ । तर मोटोपनले महिला तथा पुरुष दुवैको प्रजनन क्षमतालाई असर गर्छ भन्ने कुरा कमैलाई थाहा छ । 

अधिक तौल अर्थात् मोटोपन हर्मोनल असन्तुलनको कारण बन्छ । यसका कारण एस्ट्रोजोन हर्मोन र प्रजनन हर्मोनको सन्तुलन बिग्रन्छ । यसले महिलामा महिनावारी अनियमित हुन्छ, जसको असर प्रजननन स्वास्थ्यमा पनि पर्छ । यस्ता महिलाले गर्भधारण गर्ने सम्भावना कम हुन्छ । 

यस्तै, महिलामा मोटोपनले गर्भावस्थासँग सम्बन्धित जोखिम पनि निम्त्याउँछ । यो स्थितिमा गर्भकालीन मधुमेह या समयपूर्व प्रसव हुन सक्छ । 

मोटोपनको असर महिलामात्र होइन, पुरुष प्रजननमा पनि पर्छ । यसका कारण शरीरमा हर्मोनल परिवर्तन हुन्छ ।  विशेषगरी टेस्टोस्टेरोन हर्मोन घट्दै गएमा शुक्रकीटको संख्या घट्न सक्छ । शुक्रकीटको गतिशीलतामा कमीका कारणले पनि बाँझोपना हुन सक्छ। त्यसैले यस्ता समस्या निम्तन नदिन जीवनशैली परिवर्तन गर्नु र तौल घटाउनु पर्छ। 

तौल घटाउन के गर्ने ?
व्यायाम गर्नुहोस्।

जिम जानुहोस्।

प्रशस्त पानी पिउनुहोस्।

चिनी सेवन कम गर्नुहोस्।

प्रोटिनयुक्त खानेकुराको सेवन गर्ने ।

सन्तुलित आहार लिनुहोस्।

स्वस्थ आहार लिनुहोस्।

जंक फूड खानबाट बच्नुहोस्।
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update