Mero Chitwan
कविता : धमिरा !

(छन्दः शार्दूलविक्रीडित)

पारे ध्वस्त यहाँ पसेर धमिरा सम्पत्ति यो देशको ।
छैनन् पुस्तक छिद्र छन् छिद्र अब सबै पाना भए शेष पो ।
कोही हुन् उपहारका; खरिदका पैसा जहाँ खर्चिएँ।
छक्कै आज परेँ बिजोग कसरी हेरौँ स्वयं तर्सिएँ ।१। 

हुन्छन् पुस्तकमा हरेकतिरका सद्ज्ञान मात्रै दिने ।
शङ्का या दुविधा रहे यदि कतै निर्मूल सारा हुने ।
हाम्रा संस्कृतिका विशेष गरिमा अस्तित्व हाम्रो धन ।
सारा नाश भयो धुलो छ अहिले के चित्त बुझ्ला भन ।२। 

नेपाली इतिहास काव्य कविता साहित्य भण्डारका ।
केही दर्शनका कुनै गजलका शास्त्रीय ती छन्दका।
राखौँ खै कसरी यहाँ जतनले आश्चर्य बढ्दै गयो ।
धेरै पल्ट गरे सखाप यसरी; विश्वास मर्दै छ यो ।३। 

नेता भ्रष्ट भए विवेक नहुँदा सम्पत्ति खाए जब ।
यस्तै दुष्ट स्वभावले मुलुक यो खोक्रो बनाए सब ।
छैनन् ढुक्क कुनै अनिश्चित सबै यो राष्ट्रको गौरव।
यस्तो हालतमा यहाँ म कसरी मानौँ ठुलो उत्सव ।४।

देखिन्नन् धमिरा; लुगा र कपडा सम्पूर्ण नास्दै छ यो ।
भेटिन्नन् धमिरा ; दराज तकमा के विघ्न मास्दै छ यो ।
होलान् निश्चय नै  विकल्प यसको खोजौँ बुझौँ सादर ।
गर्ला भोलि अझै विनाश यसले तोडौँ छिटो जञ्जिर।

भरतपुर चितवन

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update