Mero Chitwan
मानसिक स्वास्थ्य संकट फैलाउँदै सामाजिक सञ्जाल

एजेन्सी-अमेरिकाको न्यूयोर्क नगरपालिकाले युवाहरुमा मानसिक स्वास्थ्य संकट फैलाएको भन्दै सामाजिक सञ्जाल कम्पनीहरु विरुद्ध मुद्दा दायर गरेको छ । नगरपालिकाले फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट र युट्युब सञ्चालन गर्ने कम्पनीमाथि  मुद्दा दायर गरेको हो । 

मुद्दामा यी कम्पनीहरूलाई उनीहरूका सामाजिक सञ्जाल प्लेटफर्महरूले बालबालिका र युवाहरूमा खतरनाक लत लगाउँदै मानसिक स्वास्थ्य संकट सिर्जना गरिरहेको आरोप लगाइएको छ जसले शिक्षामा बाधा पुर्‍याइरहेको उल्लेख गरिएको छ ।  बालबालिका र किशोरकिशोरीहरुको मस्तिष्कको पूर्ण विकास नभएको अवस्थामा यिनको लतले हानी पुर्‍याउने उल्लेख गरिएको छ । यी कम्पनीहरूको मुख्यालय रहेको क्यालिफोर्नियाको सुपीरियर कोर्टमा मुद्दा दायर गरिएको छ।

नगरपालिकाले बालबालिकामा चिन्ता र डिप्रेसनका लागि परामर्श प्रदान गर्न र सामाजिक सञ्जाल र अनलाइनको प्रभावबाट कसरी सुरक्षित रहने भन्ने बारे पाठ्यक्रम विकास गर्नुपरेको बताएको छ।

मेयर एरिक एडम्सको कार्यालयले एक विज्ञप्ति जारी गरी नगरपालिकाले प्रत्येक वर्ष युवाहरूका लागि मानसिक स्वास्थ्य कार्यक्रम र सेवाहरूमा १० करोड डलर खर्च गर्नु परेको जनाएको छ । 

मुद्दामा किशोरकिशोरीहरूले सामाजिक सञ्जालमा धेरै समय बिताउँने भएकाले तिनलाई सार्वजनिक जीवनमा खतराको रूपमा घोषणा गर्न माग गरिएको छ भने कम्पनीहरुसँग क्षतिपूर्ति समेत माग गरिएको छ । क्षतिपूर्तिको रकम भने खुलाइएको छैन । 

कम्पनीहरूको प्रतिक्रिया

तर युट्युबका प्रवक्ता जोस कास्टानेडाले उजुरीमा लगाइएका आरोपहरू सत्य नभएको बताए । कम्पनीले युवा, मानसिक स्वास्थ्य विज्ञ र अभिभावक विज्ञहरूसँग मिलेर काम गरेको उनले बताए ।

टिकटकका प्रवक्ताले पनि यस्तै कामको उल्लेख गरेका छन् जसमा कम्पनीले यी चुनौतीको सामना गर्न कस्ता कदम चाल्नुपर्छ भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् । उनले टिकटकमा अभिभावकीय नियन्त्रणको सुविधा, १८ वर्ष मुनिका प्रयोगकर्ताहरूका लागि ६० मिनेट स्वचालित समय सीमा र अन्य धेरै सुविधाहरू समावेश गरिएको बताए । 

यस्तै मेटाका एक प्रवक्ताले किशोरकिशोरीहरू र  उनीहरूका अभिभावकहरूलाई मद्दत गर्न ३० भन्दा बढी स्रोतहरू रहेको बताए । मेटाले हामीले युवाहरूलाई अनलाइनबाट सुरक्षित राख्न आफ्नो सम्पूर्ण करियर समर्पित गरेका मानिस  कार्यरत रहेको पनिज जनाएको छ। 

स्न्यापच्याटले एक विज्ञप्तिमा आफ्नो एप अन्यभन्दा फरक रहेको र सार्वजनिक रूपमा देखिने लाइक र टिप्पणीहरू नहुने जनाएको छ । कम्पनीले किशोरावस्थाका धेरै चुनौतीको सामना गर्न तयार रहन मद्दत गरिरहेको जनाएको छ । 

यसअघि पनि धेरै स्कूल तथा संस्थाहरू समाजिक सञ्जालविरुद्ध यस्ता मुद्दा दायर गरेका छन् जसमा सामाजिक मिडिया कम्पनीहरूले जानाजानी बालबालिका र किशोरहरूलाई निरन्तर रूपमा स्क्रोल गर्न र उनीहरूको सोशल मिडिया अकाउन्ट प्रयोग गर्नका प्रोत्साहन गर्ने गरेको र यसो गरेर बालबालिका र किशोरकिशोरीको शोषण गरिरहेको आरोप लगाइएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update