Mero Chitwan
आफ्नो छोरीसँग एउटै कोठामा भेटेपछि १८ वर्षीय युवकको विभत्स हत्या

दोलखा : झन्डै डेढ महिनाअघि मृत फेला परेका दोलखा शैलुङ गाउँपालिका वडा नम्बर– ४ मागापौवाका १८ वर्षीय युवकको हत्या मृतकको प्रेमीकाको परिवारले गरेको खुलेको छ ।

गाउँकै एउटा मेलामा चिनजान भएको १६ वर्षीय दलित बालिकासँग मृतक १८ वर्षीय भीष्म भण्डारीको प्रेमसम्बन्ध बनेको थियो । भण्डारीलाई आफ्नो छोरीसँग एउटै कोठामा भेटेपछि बालिकाको बुबा पुष्कर नेपाली, काका ईश्वर दर्जी र नेपाली सेनामा कार्यरत दाजु विशाल नेपालीले धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताए ।

dolakha-1707654559.webp
मृतक (बायाँ) र जिल्ला प्रहरी कार्यालयमा अभियुक्तहरुलाई सार्वजनिक गरिँदै । 

गत पुस ११ गते हत्या गरिएको मृतक भीष्म भण्डारीको विभत्स शव पुस १६ गते भेटिएको थियो । मृतकको टाउको छुट्टाइएको, नाक काटेको, औला छिनेको अवस्थामा शव फेला परेको थियो ।

पुस १६ गते शव भेटिएपछि दोलखा प्रहरीले बागमती प्रदेश प्रहरी र सिआईबिको समेत सहयोगमा अनुसन्धान सुरु गरेको थियो । सो क्रममा माघको पहिलो साता बालिकाको बुबा, काका, दाजु लगायतलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।

भीष्म भण्डारीलाई छोरीसँग एउटै कोठामा भेटेपछि बुबा लगायतले उनलाई घरबाट निकालेर छोरीलाई घरभित्रै चुक्कुल लगाई थुनेका थिए । सो क्रममा मृतक भण्डारीले प्रेमीकाको बुबा पुष्कर र काका इश्वरसंग विवाद गरेपछि काका ईश्वरले घरबाट धारिलो हतियार ल्याई भीष्ममाथि प्रहार गरेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

dipak-khadka-1707669091.JPG
प्रहरी नायब उपरीक्षक दीपक खड्का

घाइते भीष्मलाई केही पर धारामा लगेर बालिकाको बुबा पुष्कर र ईश्वरले टाउको गिडेका थिए । त्यसरी भण्डारीको विभत्स हत्या गरेपछि बालिकाको बुबा पुष्कर र काका ईश्वरले बालिकाको दाजु विशालको समेत सहयोगमा शव नजिकको बजिनीको खोल्सामा फालिदिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । टाउको गिँडेपछि बालिकाको बुबा पुष्करले मृतकको शरीर बोकेको र काका ईश्वरले टाउको बोकेर विशाल समेतको सहयोगमा बजिनीको खोल्सामा लगेर फालेका थिए ।

आइतबार दोलखा प्रहरीले हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ । उनीहरुलाई सोमवार अदालत पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update