Mero Chitwan
एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं : एसीसी वुमन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले आज भुटानलाई ८ विकेटले पराजित गरेको हो । जितसँगै नेपाल प्रतियोगिताको क्‍वार्टरफाइनल नजिक पुगेको छ ।

मलेसियाको क्‍वालालम्पुरस्थित बायोमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । 

ओपनर येसे चोडेललाई १ रनमा गुमाएको भुटानका लागि छिरिङ जाङ्‍मोले १६ रनको योगदान दिइन् । १७ रन बनाएकी कप्तान डेचन वाङ्‍मोलाई कविता जोशीले क्याच आउट गराइन् । नग्वाङ चोडेनले ५० बलमा १ चौकासहित सर्वाधिक २५ रन बनाइन् । 

उनलाई नेपाली कप्तान इन्दु बर्माले बोल्ड गरिन् । नेपालका लागि  कविता कुँवर, इन्दु बर्मा, सीता रानामगर र कविता जोशीले १-१ विकेट लिए । जवाफमा ६६ रनको सामान्य लक्ष्य नेपालले  ११ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । कविता कुँवर ५ रनमा बोल्ड भइन् । आज इन्दुको ब्याट पनि चल्न सकेन । 

उनी केवल १ रनमा बाहिरिइन् । सिता राना मगरले सर्वाधिक ३२ र रुविना क्षेत्रीले १७ रन बनाउँदै नेपाललाई लक्ष्यसम्म पुर्‍याइन् । सिता र रुविनाबीच ४८ रनको अविजित साझेदारी भएको थियो । 

भुटानका लागि अन्जु गुरुङ र अन्जुली घलेले १-१ विकेट लिए पनि नेपाललाई रोक्न सकेनन् । जितसँगै नेपाल प्रतियोगिताको क्‍वार्टरफाइनलनजिक पुगेको छ । 

नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । 

भुटानले आफ्नो पहिलो खेलमा मालदिभ्सलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । समूह डी मा रहेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा मंगलबार मालदिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update