Mero Chitwan
गोरखा पत्रकार समाजमा वन्तको अध्यक्षतामा नयाँ नेतृत्व

काठमाडौँ-गोरखा घर भई काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवशनले पत्रकार प्रदीपराज वन्तको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् । 

यस्तै सुदीप कैनी, लीलाधर कोइराला, राधा रोकाहा, उत्सव विक तथा मोहसिन अलि मियाँ कार्यसमिति सदस्य चयन भएका छन् । आजको अधिवेशनले सर्वसम्मतरूपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए । 

नवनिर्वाचित कार्यसमितिको आजै बसेको बैठकले वरिष्ठ पत्रकार रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुशील अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

बैठकले गोर्खाली पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गम्भीररूपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रको उजागर गर्न मद्दत गर्ने निर्णयसमेत गरेको छ । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वरिष्ठ पत्रकार दाहालले एकताबद्ध भएर काम गर्न सके संस्थाले गोरखाका पत्रकारका लागि धेरै योगदान पुर्याउन सक्ने धारणा राखे । उनले अबको समय खोज पत्रकारिताको भएको भन्दै अध्ययनशील बन्न सुझाव दिनुभयो ।

वरिष्ठ पत्रकार सुशील अर्यालले गोरखाली पत्रकारले गोरखाका ऐतिहासिक, सांस्कृतिक पहिचान स्थापित हुने खालका समाचार खोज्ने तथा लेख्नुपर्नेमा जोड दिनुभयो । गोरखाका अग्रज पत्रकार बद्री पोखरेल, सुशील अर्याल, भरत ढकाल, विवेक रेग्मी, अमृत दाहाललगायतले गोरखाको समग्र विकास र गोरखाका पत्रकारको क्षमता अभिवृद्धिमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

नवनिर्वाचित अध्यक्ष वन्तले गोरखामा रहेका तथा काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका सबै पत्रकारको क्षमता अभिवृद्धिमा आफूले सक्दो गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि दल तथा वैचारिक विचारधारमा विभाजित नभई गोरखा र गोरखाको पत्रकारिताको विकासका खातिर जुटेर लागिरहने बचन दिए । गोरखा पत्रकार समाज २०७७ सालमा दर्ता भएको हो । 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update