
काठमाडौं : देशका विभिन्न जिल्लामा सुँगुर, बंगुर तथा बँदेल प्रजातिमा अफ्रिकन स्वाइन फिभरको प्रकोप देखिएको हुँदा जैविक सुरक्षा अपनाउन पशु सेवा विभागले आग्रह गरेको छ ।
हालै तनहुँ, लमजुङ र कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको भन्दै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई संक्रमित क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए । अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणले सुँगुर तथा बङ्गुरलाई उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्नेजस्ता लक्ष्मण देखिने हुन्छ । र, मृत्युसम्म हुन सक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अफ्रिकन स्वाइन फिभर सुँगुर/बंगुर प्रजातिका लागि महामारीजन्य संक्रमण भएपनि मानिसमा भने सर्दैन । तर, यी प्रजातिका जनावरमा स्वाइन फिभरजस्तै अन्य संक्रमण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुँगुर तथा बंगुरको मासु राम्रोसँग पकाएर मात्रै खान तथा यिनीहरूसँग अनावश्यक सम्पर्कमा नजान विभागले सुझाएको छ ।
संक्रमण नियन्त्रणका लागि भियतनामले बनाएको भ्याक्सिनको प्रयोगका विषयमा छलफल भइरहेको डा. ढकालले बताए । २०७९ साल जेठ २ गते नेपालमा अफ्रिकन स्वाइन फिभर पहिलो पटक देखिएको थियो । २८ जिल्लाका ६० हजार सुँगुर, बुङ्गुर मरेका थिए । पशु बीमा नगर्ने धेरै किसानले क्षति व्यहोर्नु परेको थियो ।