Mero Chitwan
हुलाक सेवाका १६ सय ३६ दरबन्दी खारेज गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले हुलाक सेवामा रहेका एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिवर्तन गरी एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको पनि जनाइन् ।

यस्तै सरकारले हुलाक सेवाको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय गरेको छ ।  विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने  र गरिब परिवार पहिचान परिचयपत्र वितरण निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

मन्त्री शर्माले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरी जिल्लाका डा. पर्शुराम मिश्रलाई नियुक्ति गर्ने निर्णय भएको पनि जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update