Mero Chitwan
सिएमसी क्यान्सर इन्स्टिच्युटमा लुम्बिनीका बिरामीलाई २ लाखको नि:शुल्क सुविधा 

लुम्बिनी- लुम्बिनी प्रदेशका अर्बुद (क्यान्सर) रोगका बिरामीले चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा उपचार गर्दा रु दुई लाखको निःशुल्क सुविधा पाउने भएका छन् । चितवन मेडिकल कलेज र लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयबीच यससम्बन्धी सम्झौता भएको हो । 

सम्झौतामा निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरी र अस्पतालको तर्फबाट वरिष्ठ व्यवस्थापक पारस अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लुम्बिनी प्रदेशका नागरिकले चितवन मेडिकल कलेजमा अर्बुद रोगको उपचार गर्दा रु दुई लाख बराबरको निःशुल्क सुविधा पाउने छन् । बिरामीको उपचारको सोधभर्ना निर्देशनालयले दिने वरिष्ठ व्यवस्थापक अधिकारीले बताए । 

प्रदेशले ‘प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा प्रमाणपत्र’ उपलब्ध गराउने छ । सोही प्रमाणपत्रका आधारमा सिएमसिले निःशुल्क सुविधा दिने सम्झौतामा उल्लेख छ । अस्पतालका सामाजिक सुरक्षा एकाइका अमृत काफ्लेका अनुसार अर्बुदका बिरामीले सङ्घीय सरकारबाट रु एक लाख बराबरको निःशुल्क सुविधा पाउने छन् भने लुम्बिनीका बिरामीले सङ्घीय र प्रदेशका गरी रु तीन लाख बराबरको निःशुल्क उपचार सुविधा पाउने छन् । 

चितवन मेडिकल कलेजले एक सय शय्याको सुविधासम्पन्न सिएमसी क्यान्सर इन्स्टिच्यूट सञ्चालन गरेको छ । आधुनिक उपकरण र दक्ष जनशक्तिसहित सञ्चालित उक्त इन्स्टिच्युटमा बिरामीले सहजरुपमा अर्बुद रोगको उपचार पाउँदै आएका छन् ।  

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update