Mero Chitwan
बिहेको अघिल्लो दिन अर्नाको आक्रमणबाट बेहुलीको मृत्यु, निम्तालु  बने मलामी

इनरुवा- सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले २१ वर्षीया छोरी रञ्जुकुमारीको बिहेका लागि सबै तयारी गरिसकेका थिए । 

घर सिँगारेर चिटिक्क पारिएको थियो । आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकिएको थियो । 

सोमबारको बिहेका लागि आइतबारदेखि नै निम्तालुहरु आउनेक्रम सुरु भइसकेको थियो ।

छरछिमेकीहरु पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका लागि आवश्यक सबै सामग्रीको जोहो भइसकेको थियो । 

 गुलाबी विपन्न परिवारका थिए । तर छोरीलाई धुमधामका साथ अन्माउने तयारीमा थिए । 

तर रञ्जुकुमारीको डोलीको साटो अर्थी उठ्यो घरबाट । रञ्जुकुमारी जन्मिएको घरबाट बिदा त भइन् तर कहिल्यै नफर्किने गरी । 

गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उनको परिवारमात्र होइन गाउँ नै स्तब्ध भएको छ । 

बिहेको अघिल्लो दिन रञ्जुकुमारी घाँस काट्न घरबाट करिब डेढ किलोमिटर पश्चिम कोसी किनारमा पुगेकी थिइन् । उनलाई कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली अर्नाले अकस्मात आक्रमण गरेको थियो । सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले बताए । 

 घाइते भएर ढलेपछि पनि अर्नाले आक्रमण गरिरहेकाले रञ्जुको घटनास्थलमै निधन भएको थियो । बिहेको एकदिनमात्र अघि भएको यो दुःखद् घटना भएकाले  रञ्जुको बेहुली बन्ने सपना पनि अधुरै रह्यो । 

  रञ्जुको मृत्युको खबर सुनेपछि गुलाबी मुखियाको परिवार मुर्छित छ । गुलाबी परिवारले माछा मारेर जीविकोपार्जन गर्दै आएको छ । 
    
  पीडित परिवारलाई क्षतिपूर्ति दिने कोशीटप्पु वन्यजन्तु आरक्षले आश्वासन दिएको छ । आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई जनही रु १० लाख उपलब्ध गराउँदै आएको छ । 

  आर्थिक वर्ष २०७०/७१ देखि हालसम्ममा हात्तीको आक्रमणले ३४ जना घाइते भएका छन् भने १६ को मृत्यु भएको कोसीटप्पु वन्यजन्तु आरक्ष प्रशासन शाखाले जनाएको छ । अर्नाको आक्रमणमा परी ४३ घाइते भएका छन् भने रञ्जुसहित चार जनाको मृत्यु भएको छ । राससबाट

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update