
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभाका सभामुखज्यू र राष्ट्रियसभाका अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दीकोट गाउँपालिका १, पाल्पा जिल्लानिवासी पद्मप्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागू हुनेगरी संघीय संसद्को महासचिव पदमा नियुक्त गरिएको छ ।’
मंसिर २५ गते पाण्डेयलाई महासचिवका लागि राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सभापति र राष्ट्रियसभा अध्यक्षले संयुक्त सिफारिस गरेका थिए । तर, दोहोरो नागरिकतासम्बन्धी विवाद आएपछि पाण्डेयको नियुक्तिमा ढिलाइ भएको थियो । राष्ट्रपति कार्यालयले समेत पाण्डेयको नागरिकताको विवादबारे उल्लेख गर्दै नियुक्तिमा ढिलाइ गरिरहेको थियो ।
त्यसपछि माघ ३ मा नियुक्तिका लागि सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पुन राष्ट्रपतिसमक्ष स्मरणपत्र पठाएका थिए । पाण्डेय सिफारिस हुँदा संसद्को सचिव पदमै कार्यरत भएको भन्दै महासचिव नियुक्त गर्न नमिल्ने अडान राष्ट्रपति कार्यालयले राखेको थियो । तर पाण्डेयले आजै सचिवबाट राजीनामा दिएपछि उनलाई महासचिवमा नियुक्त गरिएको हो ।