
कास्की : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जना व्यक्ति तथा संस्थाविरुद्ध जिल्ला प्रहरी कास्कीमा सहकारीपीडितहरुले जाहेरी दिएका छन् ।
लामिछानेसहित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलालगायतविरुद्ध जाहेरी दिइएको हो । पैसा लिएको तर फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरूले बताएका छन् ।
उक्त निवेदनलाई सूचना मानेर त्यसमा उल्लेख भएका नाममाथि अनुसन्धान सुरू गरिसकेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए । सहकारी प्रकरणमा पहिले नै जाहेरी दर्ता भएकाले सोमबार पूरक निवेदन आएको कास्की प्रहरीको भनाइ छ ।
उजुरी परेका संस्थाहरूमा नेचर हर्ब प्रालि, गोर्खा मिडिया नेटवर्क, नेचर नेस्ट, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङउड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पुन, गोर्खा ग्रुप अफ इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि छन् । यसबाहेक जीबी राई समूहका सहकारी काठमाडौंको स्वर्ण लक्ष्मी, चितवनको सहारा, बुटवलको सुप्रिम, वीरगञ्जको सानो पाइला सहकारीको नाम छ।