Mero Chitwan
माघ २४ गते बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं :संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० पेस गरेका छन् ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमाजिमको बाधा अड्काउ फुकाऊ आदेश पेस गरे ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ टेबुल गरिएको छ ।  प्रतिनिधिसभाको अर्को बैठक माघ २४ गते बुधवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।

संसद् सचिवालयले यस पटकदेखि कानुन निर्माणलाई प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने तयारी गरेको छ । संसद् सचिवालयका अनुसार हरेक १५/१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुनेछ ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update