Mero Chitwan
लोकतन्त्रमा जनताको भावनाअनुसार सबै राजनीतिक दलहरुले अघि बढ्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुले संसदको चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताएका छन् ।

सोमबारबाट सुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्र्दै उन्ले सो कुरा बताएका हुन् । सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई एकतावद्ध भएर अघि बढ्न पनि आग्रह गरे । विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगत समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको उल्लेख गर्दै उन्ले चालु अधिवेशन मुलुकका लागि आवश्यक कानुन निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।

‘‘संसदीय प्रणालीमा संसदको काम कानुन निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानुन बनाई सहयोग गर्ने पनि हो । विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगतसमितिहरुले पूर्णता पाएसँगैसंसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको महशुस गरेको छु । ऐन निर्माणमा सङ्ख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बिचमा पर्याप्त गृहकार्य भएका छन् ।,’’ सभामुख घिमिरेले भने, ‘‘चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको छु । राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनैपर्दछ । विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ हुन् । संसद्मा अवलम्वन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन हाम्रो सामुहिक प्रतिवद्धता जरुरी छ । संसदलाई प्रभावकारी, क्रियाशीलर जीवन्त बनाउन चालु अधिवेशनदेखि केही नयाँ अभ्यास गर्दैछौं ।’’

सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझावलाई आत्मासात गर्दै संसदका चालु अधिवेशन नतिजामुखि हुने विश्वास समेत व्यक्त गरे । उन्ले संसदलाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास तथा संसदीय गतिविधि समयवद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने पनि बताए ।

सभामुख घिमिरेले लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने भएकाले उनीहरुको भावनाअनुसार सबै राजनीतिक दलहरुले अघि बढ्नुपर्ने बताए।

‘‘संसदीय गतिविधि समयवद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणी समेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दैछौं । संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले यस संस्थाप्रतिको विश्वास र भरोसा वृद्धि हुँदै जान्छ । किनभने लोकतन्त्रमा जनता सबैभन्दा माथि हुन्छन् । जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गर्दछु ।’’ उन्ले भने ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update