Mero Chitwan
सरकारी शुल्कमै क्यान्सरको उपचार गर्दै सिएमसी क्यान्सर इन्स्टिच्यूट

चितवन : चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको हो ।

इन्स्टिच्यूटका रेडिएसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरका अनुसार अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् । यी सबै सेवा नेपाल सरकारले तोकेको शुल्कमा गरिँदै आएको ठाकुरले बताउनुभयो । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन् ।

 दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको उनको भनाइ छ । डा ठाकुरले भने, “हामीकहाँ रेडियोथेरापीलगायत कुनै पनि उपचार र परीक्षणका लागि पालो कुर्नुपर्ने झन्झट हुँदैन ।” महिनौँ पालो पर्खुनुपर्दा क्यान्सर झन फैलिनसक्ने भन्दै उनले पत्ता लागेपछि नियमित उपचारमा लैजाने बताए । 

 उनले भने,“रेडियोथेरापी गर्नुपरे आज योजना बनाएर भोलि नै गरिहाल्छौँ ।” उनले एक/दुई महिनाअघि गरेको योजनाका आधारमा रेडियो थेरापी गर्दा योजनाभन्दा अन्यत्र क्यान्सर फैलिनसक्ने खतरा रहने बताए । क्यान्सर इन्स्टिच्युटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए । 

रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि आवश्यक अत्याधुनिक उपकरण ल्याइसकिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा एमआरआई, सिटीस्क्यान, मेमोग्राम, स्पेक्टसिटी, बोन स्क्यानर, इण्डोस्कोपी, भिडियो एक्सरे, एक्सरे, ईसिजि, क्याथल्याब, ए ग्रेडको प्रयोगशाला, आईसियू, एनआईसियू, सिसियू रहेका छन् ।
 
यहाँ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपाल र भारतका सीमा क्षेत्रबाट बिरामी आउने गर्दछन् । बिरामीको उच्च चापका कारण पालो कुर्नुपर्ने हुन्छ । पालो नपाएर राजधानी काठमाडौँ र भारतलगायतका देशमा पुग्नुपर्ने बाध्यता रहेका बिरामी निजी क्षेत्रमा यही उपचार पाएका हुन् ।
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update