Mero Chitwan
मृत्युको नाटक गर्ने भारतीय अभिनेत्रीलाई गालीको वर्षा !

एजेन्सी–आफ्नै मृत्युको खबर । मानिसहरुले आफूलाई दिएका श्रद्धाञ्जली । प्रशंसक र शुभेच्छुकका सम्झनाका शब्द । 

मानिसले कस्तो अनुभूति गर्ला ? 

यस्तै एक घटना भएको छ भारतमा, जो बलिउडको प्रभाव भएको विश्वभर नै आज दिनभर नै चर्चाको विषय बनिरह्यो ।

प्रसंग हो–भारतीय अभिनेत्री एवं मोडल पुनम पाण्डेको नक्कली मृत्युको । 

हिजो अचानक पाण्डेको परिवारलाई उद्धृत गर्दै भारतका प्रमुख समाचार माध्यमहरुले समाचार दिए–पाठेघरको मुखको क्यान्सरबाट पुनम पाण्डेको मृत्यु भयो । त्यसरी समाचार दिनेमा भारतका मूलधारका मानिने प्रमुख समाचार माध्यमदेखि युट्युब र अनलाइनसम्म थिए । 

समाचारलगत्तै उनका फ्यान स्तब्ध भए । बलिउड पूरै शोकमा डुब्यो । मानिसहरुले उनको राम्रा पक्षको प्रशंसा गरे । 

नेपाली मिडियामा पनि यो समाचारले राम्रै स्थान पायो, के मूलधार, के अनलाइन, सबैले समाचार छापे । 

तर, मृत्युपछि न उनको अन्त्येष्टिको समाचार आयो, न परिवारहरु नै सम्पर्कमा आए । 

तर, अचानक कथामा ट्वीस्ट आयो । मृतक भनिएकी पुनम पाण्डे अचानक इन्स्टाग्राममा भिडियोमार्फत् प्रकट भइन् र भनिन्–म मरेकी छैन, मैले मृत्युको नाटकमात्र गरेकी हुँ । 

उनले पाठेघरको मुखको क्यान्सरको जनचेतना फैलाउन यसो गरेको भन्दै माफीसमेत मागिन्। 

त्यसपछि के भयो, के भइरहेको छ, परिणाम सबैका सामु छ । केही डाक्टरहरुबाहेक सबैले उनलाई गाली गर्न थाले । जनचेतना फैलाउने नाममा मृत्युजस्तो संवेदनशील विषयलाई मजाकको विषय बनाएको भन्दै सबैले उनको आलोचना गरेका छन् । 

बलिउडका सेलेब्रिटीहरुले त उनलाई घटिया भन्दै मित्रता तोडेको समेत बताइरहेका छन्। अभिनेत्री राखी सावन्तले एक भिडियो जारी गर्दै पुनमको मृत्युको खबरले आफ्नो सबै सम्पत्ति बेच्नसमेत तयार भएको बताएकी छन् । 

यस्तै, अल इण्डिया सिने वर्कस एशोसियसनले पुनम पाण्डेविरुद्ध प्रहरीमा उजुरी दर्ता गर्ने तयारी गरेको छ । फिल्मकर्मीहरुले पाण्डेको मृत्युको नाटक लज्जास्पद कार्य भन्दै विरोध जनाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई तत्काल पक्राउ गर्न पनि माग गरेका छन् । 

यस्तै, इण्डियन फिल्म एण्ड टीभी डाइरेक्टर्स एशोसियसनका अध्यक्ष अशोक पण्डितले पाण्डेलाई कडा कारबाही गर्न माग गरेका छन् । पाण्डेले सबैको भावनामाथि खेलबाड गरेको र मृत्युलाई मजाक बनाएको उनको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update