Mero Chitwan
कांग्रेसका नेताहरुले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरे : ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरुले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको दाबी गरेका छन् ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कांग्रेसका नेताले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जनमतको अवमूल्यन गरेको आरोप लगाएका हुन् ।

केही दिनअघि मात्र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री शशांक कोइरालाले अबको प्रधानमन्त्री माधवकुमार नेपाल भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए । तर, ओलीले संकेत गरेको व्यक्ति माधव कुमार नेपाल हुन् या होइनन् भन्ने विषय प्रष्ट नभएको एमालेका प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौलाले बताएका छन् । अध्यक्ष ओलीले संकेत गरेका व्यक्तिबारे पार्टीभित्रै कौतुहलको विषय बनेको नेताहरुको भनाइ छ ।

एमालेबाट २ वर्षअघि मात्र अलग भएर नयाँ पार्टी गठन गरेका नेपाल रौतहटबाट प्रतिनिधिसभामा निर्वाचित भए पनि उनको पार्टी एकीकृत समाजवादी राष्ट्रिय दल हुन सकेको थिएन । नेपाललाई स्वतन्त्र सांसदको रुपमा संकेत गर्दै ओलीले संसदीय दलको बैठकमा अभिव्यक्ति दिएको बताइएको छ । ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवको सिफारिस रोकेकोप्रति पनि आपत्ति जनाए । उनले राष्ट्रपति स्वतन्त्र नभएर गठबन्धन दलको इशारामा अघि बढेको समेत आरोप लगाएका छन् ।

त्यसैगरी, ओलीले २ दिनपछि हुने संसद अधिवेशनमा तथ्यमा आधारित रहेर प्रतिपक्षीको भूमिका निर्वाह गर्न पनि आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update