Mero Chitwan
कृषि विश्वविद्यालयमा  अब कृषि इञ्जिनियरिङ पनि  पढाइ हुने

चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अब कृषि इञ्जिनियरिङको पनि पढाइ हुने भएको छ । विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको हो । 

 विश्वविद्यालयको कृषि सङ्कायका डिन प्रा डा अर्जुनकुमार श्रेष्ठले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ४८ जना कोटासहितको कृषि इञ्जिनियरिङ पढाइका लागि अनुमति लिइने बताए । उनका अनुसार  सुरुको वर्ष २४ जनाबाट पढाइ सुरु गरिनेछ । 

  डिन श्रेष्ठकाअनुसार भारतलगायत देशमा अधिकांश कृषि पठनपाठन हुने विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने गरेको छ ।

 धरानको पूर्वाञ्चल इञ्जिनियरिङ कलेजमा मात्रै यो विषयको पढाइ हुँदै आएको छ । यस विषयको अध्ययनसँगै कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउन मद्दत पुग्ने विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले बताए । उनले भने, “देशको मेरुदण्डका रुपमा रहेको कृषिको सर्वाङ्गीण विकास गर्न र कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन यो विषय महत्वपूर्ण हुनेछ ।”

  कृषि, वन, पशु विज्ञान र मत्स्य स्नातक पढाइ हुँदै आएको यस विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ थप हुने भएको हो । सम्बन्धित विषयको एकीकृतरुपले अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार गराइ मुलुकभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य विश्वविद्यालयको रहेको उनले बताए । हालै सम्पन्न विश्वविद्यालय सभाको १२औँ साधारण बैठकले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको हो ।
 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update