
भक्तपुर : विद्युत् चुहावट नियन्त्रणमा भक्तपुरले निकै सुधार गरेको छ । ९ वर्षअगाडिसम्म ६२ प्रतिशतसम्म विद्युत् चुहावट रहेको भक्तपुरमा नेपाल विद्युत् प्राधिकरणको सक्रियतासँगै चुहावट ७.०४ प्रतिशतमा सीमित भएको छ ।
प्रधिकरणको भक्तपुर शाखाका अनुसार यस आर्थिक वर्षको पुस मसान्तसम्ममा चुहावटको आरोपमा ३३१ जना कारबाही परेका छन् । प्राधिकरणले एक करोड ९ लाख रुपैयाँ राजस्वसमेत उठाएको नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रका प्रमुख रामप्रमोद यादवले जनाए ।
यता ग्राहक भने विद्युत् चुहावट नियन्त्रणको नाममा प्राधिकरणले दुःख दिएको आरोप लगाएका छन् । विद्युत् चुहावट नभएको मिटरसमेत जबरजस्ती उठाएर लगेर जरिवाना तिर्न लगाउने गरेको स्थानीय बिक्की वासुकलाको भनाइ छ ।
भक्तपुरमा वार्षिक ८२ देखि ८५ लाख युनिटसम्म विद्युत् खपत हुने गरेको छ । जसमध्ये दुई लाख ५० हजार युनिट विद्युत् चुहावट हुने गरेको प्राधिकरणको भनाइ छ । विद्युत् चुहावट गर्न मिटरको सिल बिगार्ने, तारमा हुकिङ गर्ने र मिटरमा लुपिङ गर्ने गरेको पाइएको छ । तर यो सबै पुरानो मिटरमात्रै हुने गरेको प्राधिकरणका कर्मचारी जीवनकुमार खड्काले जनाए ।