Mero Chitwan
किसानको विरोधपछि दूधकाे अनुदान रकम कटौतीको निर्णय स्थगन

हेटौंडा : दूधमा दिँदै आएको उत्पादनमा आधारित अनुदान रकम कटौतीको विरोधमा किसान आन्दोलित भएपछि बागमती प्रदेश सरकारले निर्णय स्थगन गरेको छ । किसानहरुले मंगलबार बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा तालाबन्दी गरी धर्ना दिएपछि सरकारले निर्णय स्थगन गरेको हो ।

प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र कोइरालाको अध्यक्षतामा बसेको बैठकले निर्देशनालयले सूचना जारी गरी निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

बैठकले उत्पादनमा आधारित अनुदान रकम वितरण गर्न थप बजेटका लागि पहल गर्ने निर्णय गरेसँगै किसानले धर्ना स्थगित गरेका छन् । त्यसअघि आज मकवानपुर, चितवनसहित बागमती प्रदेशका विभिन्न जिल्लाबाट भेला भएका दुग्ध उत्पादक किसानले अनुदान कटौतीको विरोधमा प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा तालाबन्दी गरी धर्ना दिएका थिए ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ देखि दुग्ध सहकारी संस्थामार्फत किसानलाई प्रतिलिटर ५० पैसा अनुदान थालेको थियो । आर्थिक वर्ष ०७९/८० सम्म आइपुग्दा उक्त रकम प्रतिलिटर ३ रुपैयाँ ५६ पैसा पुर्‍याइएको थियो । यस आर्थिक वर्षमा भने उक्त कार्यक्रमका लागि पाँच करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ ।

प्रदेश सरकारले कार्यविधि बनाएर स्थानीय तहबाट अनुदान नलिएका र नयाँ किसानलाई मात्र अनुदान दिने सूचना निकालेपछि किसानहरु आन्दोलित भएका हुन् । मिल्क होलिडे अन्त्यका लागि प्रदेश सरकारले चासो नदिएको आरोपसमेत उनीहरूले लगाएका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update