
काठमाडौं : चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा यही माघ २२ गते देशभरका चलचित्र हल बन्द गरिने भएको छ । हल व्यवसायी तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले मंगलबार जारी गरेको विज्ञप्तिमा मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा एक दिन हल बन्द गर्न लागिएको जनाइएको छ ।
फिल्म क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको र मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरु नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था आएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा आगामी माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरु बन्द गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछु ।’