Mero Chitwan
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव माघ १८ गतेदेखि हुने

चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ १८ गतेदेखि सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवको तयारी तीब्र पारिएको छ ।

क्याराभान नेपालको आयोजनामा रत्ननगर ७ चित्रसारी खेल मैदानमा महोत्सव हुन लागेको हो । आयोजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । नेपाली चलचित्रको विकास र सौराहासहित चितवनको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गरिएको क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले बताए ।

समृद्धिको पूर्वाधार, पर्यटनको आधार’ भन्ने मूल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवनसहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रिय स्तरको चलचित्र महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी १०० बढी स्टलहरु रहने छन् । महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड ५० लाखको कारोवार हुने अनुमान र अपेक्षा गरिएको छ।

पाँच दिन सम्म चल्ने महोत्सवमा चलचित्र र पर्यटनको विकासको लागि राज्य र निजी स्तरबाट गर्नुपर्ने पहलका बारेमा छलफल र बहस गरी नीतिगत सुधारका लागि सरकारको ध्यानर्कषण गराइने उनको भनाई छ । रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो महोत्सवमा ८ राष्ट्रका चलचित्रकर्मीहरुको उपस्थिति तथा दक्षिण एशियाली क्षेत्रका नवीनतम कला सिर्जनालाई अवसर प्रदान गर्ने, साँस्कृतिक आदान प्रदानलाई बढावा दिने र दक्षिण एशियाली कथाकथनको समृद्धिको उत्सबका रुपमा कथानाक चलचित्र, वृत्तचित्र, लघुचलचित्रबीच प्रतिस्पर्धा गराइने छ ।

महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीन वटा चलचित्रलाई अवार्ड प्रदान गरिने छ । राष्ट्रिय तथा अन्तराष्ट्रियका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने महोत्सवको अन्य सहयोगी संस्थाको रुपम चलचित्र विकास वोर्ड, नेपाल पर्यटन वोर्ड, नेपाल टेलिकम, बागमती प्रदेश, पर्यटन मन्त्रालय, भरतपुर महानगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, इच्छाकामना गाँउपालिका, गैंडाकोट नगरपालिका, देवघाट गाँउपालिका, हेटौडा उपमहानगरपालिका छन् ।

महोत्सवमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्ट फिल्म अवार्ड वितरण, सार्क स्तरका चलचित्रहरुको प्रर्दशन, चलचित्रकर्मीहरुको जीवनीसम्बन्धी साक्षात्कार, नेपाली चलचित्रको अन्तराष्ट्रिय बजार र पर्यटन विकाससम्बन्धी अन्तर्क्रिया, कलाकार र राजनीतिक दलका प्रतिनिधि, पूर्वी चितवन र पश्चिम चितवनका खेलाडी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने चलचित्र निर्माता संघका सचिव तथा महोत्सव मुल समारोह समितिका निर्देशक किसान पोखरेलले जानकारी दिए ।

महोत्सव मुल समारोह समितिका सहसंयोजक तथा सौराहाका व्यवसायी गोकर्ण गिरीले सौराहामा हुने अन्तराष्ट्रिय स्तरको फिल्म फेस्टिवलले सुस्ताएको पर्यटनलाई चलायमान बनाउने बताए । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरका कलाकारहरु राजु परियार, जीवन शर्मा, शान्ति श्री परियार, शिला आले, पशुपति शर्मा, हिमाल सागर, टीका प्रसाई, सरोज विरही, ज्योती मगर, कृष्ण कँडेल, शम्भुजित बास्कोटा, एलिना चौहान, रचना रिमाल, भाइवर साइमन, कुल व्वाई, साथै स्थानीय कलाकार तथा व्याण्डकको प्रस्तुती रहने छ।

क्याराभान नेपालले यस अघि विरगन्जमा स्वर्णिम चलचित्र महोत्सव तथा लुम्बिनीमा बुद्धको जीवनी र दर्शन सम्बन्धी फेस्टिवल गरेको थियो । 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update