गोलबजार (सिरहा) : सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गोलबजार–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा पशुचौपायालाई पानी खुवाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन् । रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका उनीहरु गोलबजार–७ मा डेरा गरी बस्दैआएका थिए ।
कवाडी सङ्कलन गरी जीविकोपार्जन गर्दै आएका तीनै जना आज दिउँसो घरबाट खेल्न निस्किएका थिए । घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पु¥याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


