
काठमाडौँ : हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ । काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
आज बिहान पाँच बजेतिर न्यूनतम तापक्रम दुई दशमलव नौ डिग्री मापन भएकामा अहिले बिहान ८:४५ बजेको समयमा झरेर न्यूनमत तापक्रम दुई दशमलव पाँच डिग्री मापन गरिएको छ । याे यस वर्षकै सबैभन्दा न्यूनतम तापक्रम हाे । दुई दिनअघि न्यूनतम तापक्रम तीन डिग्री मापन भएको थियो ।
जुम्लामा माइनस पाँच दशमलव तीन र मुस्ताङको जोमसोममा माइनस पाँच दशमलव पाँच डिग्री रेकर्ड भएको वरिष्ठ मौसमविद् अर्यालले बताए । उनले अहिले गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको जानकारी दिए । अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी बदली रहेको र तराईको सबै क्षेत्रमा हुस्सु लागिरहेको उनले बताए ।