Mero Chitwan
सांसदका प्रश्नमा प्रधानमन्त्री शाहको जवाफ

काठमाडौँ:  प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्हरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुभएको छ ।

प्रतिनिधिसभाका विगतका बैठकमा सांसद्हरुले उठाउनुभएको माग सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आज जवाफ दिनुभएको हो । सभाको आजको बैठक सुरू भए लगत्तै सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रधानमन्त्री शाहले बोल्नका लागि समय माग गर्नुभएको थियो ।

सदनका बैठकमा प्रधानमन्त्री, मन्त्री र विपक्षी दलका नेताले समय माग्दा सभामुखले सम्बोधन गर्न समय दिने संसदीय अभ्यास छ । प्रधानमन्त्रीले आज सांसद्हरुको जवाफ दिने भनेपछि सभामुख अर्यालले सांसद्हरुलाई दलीय आधारमा प्रधानमन्त्री शाहलाई प्रश्न सोध्न समय दिनुभएको थियो ।

प्रतिनिधिसभा नियमावली, २०७९ को दफा ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ । प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने नियमावलीमा व्यवस्था छ ।

सो समयमा सभामुखले प्रश्नकर्ता सदस्यको नाम बोलाउने, नाम बोलाइएको सदस्यले आफ्नो स्थानमा उभिएर प्रधानमन्त्रीसँग प्रश्न गर्न सक्ने र प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल दिनुपर्ने व्यवस्था छ ।

प्रश्नोत्तर सुरु हुनुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवराज दुलाल र नेकपा (एमाले) का ऐनबहादुर महरले प्रतिनिधिसभा नियमावली, २०७९ को दफा ५६ बमोजिममा भएको व्यवस्थाबारे सभामुख अर्यालको ध्यनाकर्षण गराउनुभएको थियो । नेपाली कांग्रेसका अर्जुनरसिंह केसीले नियम, प्रक्रिया र पद्धतिमा सभा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । यही जेठ १२ गतेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले सरकारको जवाफदेहीताको माग गर्दै बैठकमा अवरोध गरेका थए । तत्पश्चात केही समय बैठक स्थगन भएको थियो ।

सोही दिन बसेको दोस्रो बैठकमा सत्तापक्षका राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहको सचिवालयसँग कुरा गरेर एक साताभित्र प्रधानमन्त्री शाह सम्बोधनका लागि संसद्मा आउने जानकारी गराउनुभएको थियो । सभामुख अर्यालले पनि प्रधानमन्त्री वालेन्द्र शाह छिट्टै सदनमा आउने जानकारी गराउनुभएको थियो । सत्ता पक्ष र विपक्षीको त्यो समझदारीपछि यही जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलेको बजेट प्रस्तुत गर्नुभएको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update