दाङ: रोल्पामा हिजो भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । उद्धार तथा खोजतलासका क्रममा २० जनाको शव घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परी रुकुम पुर्वका सिस्ने गाउँपालिका-५ का ३२ वर्षीय समिर कामी घाइते भएका छन् । उहाँको आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख विरेन्द्र विश्वकर्मा नेतृत्वको टोली घटनास्थल पुगी उद्धार तथा खोजी कार्यमा खटिएको उहाँले बताउनुभयो । भौगोलिक विकटता, वर्षा भइरहेको तथा राति भइसकेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको रोल्पा प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीपमा सवार सबै जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री रहेका प्रहरी निरीक्षक थापाले उल्लेख गर्नुभयो ।
यसै बीच, गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको जिप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले आज लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो ।
समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई दुर्घटनाको कारण तथा लापरबाही र कमजोरी पत्ता लगाई तथा आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिने कार्यादेश दिइएको छ ।


