Mero Chitwan
पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ-नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटो प्रचारबाजी भएको जानकारी गराउनुभएको छ ।

अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएको उल्लेख गर्दै नेपालको कानुनअनुसार आफूहरूले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराउनुभएको छ ।

“देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अङ्गहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिङ्गो जीवन सङ्घर्षमै व्यथित गरेको हुँ”, उहाँले उल्लेख गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री देउवाले आफ्नो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको उल्लेख गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न आफू गृहमन्त्री हुँदा आफ्नै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन र आफ्नै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको बताउनुभएको छ ।

 “स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु”, उहाँले उल्लेख गर्नुभएको छ, “वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरञ्जना गरी सार्वजिनक भएका विवरणबाट भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।”

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update