काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने एक सय ८९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले एक साताको अवधिमा उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही थालिएको जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा मात्रै एक सय ५० जना पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक भट्टराईले भन्नुभयो, “मुख्यगरी सार्वजनिक सेवा प्रवाह नाममा दुःख, हैरानी दिने, सार्वजनिकस्थल बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविधि गर्ने तथा विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरूमाथि अपरेसन चलाएका हौँ, यो अभियान जारी छ ।”
उहाँका अनुसार रात्रिकालीन व्यवसाय हुने क्षेत्रमा निगरानी भइरहेको र त्यस क्रममा नितान्त गुण्डागर्दीमा संलग्न १६ जनालाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको र उनीहरूको संलग्नताका आधारमा कानुनी कारबाही गरिने प्रवक्ता भट्टराईले बताउनुभयो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बिचौलिया, विभिन्न नाममा नागरिकलाई दुःख दिने, दुव्र्यवहार गर्ने तथा आपराधिक गतिविधिमा संलग्न हुनेविरुद्ध कारबाही चलाउन देशभरका प्रहरी कार्यालयमा परिपत्र जारी गरिसकेको बताउनुभयो । सोही अनुसार प्रहरी टोली परिचालन भई काम अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।


