Mero Chitwan
श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेलापारेको छ ।

ग्यासको कृत्रिम अभाव सृजना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डर फेलापारेको हो । विभागले सो उद्योगलाई रु तीन लाख जरिवाना गराएको छ ।

ती ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्रीवितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ । ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्नेगरी कृत्रिम अभाव सृजना नगरी वितरण प्रणाली सहज गर्न विभागले आग्रह गरेको छ । पश्चिम एसियामा विकसित तनावका कारण ग्यास आपूर्ति नहुने आशङ्कामा उपभोक्ताले ग्यासको अधिक भण्डारण गर्दा वितरणमा समस्या भइरहेको निगमले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  २२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update