Mero Chitwan
आज झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा झापामा १२९ मिलीमिटरभन्दा बढी वर्षा भएको छ ।

कास्की, लमजुङ, तनहुँ र चितवन, इलाममा पनि भारी वर्षा (५० मिलीमिटरभन्दा माथि) वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार अझै केही दिन बदली कायम रहने जनाइएको छ ।

अहिले पनि तनहुँ मकवानपुर, बारालगायत जिल्लाहरूमा वर्षा भइरहेको छ । गण्डकीभन्दा पश्चिम नेपालमा भने आज वर्षा भएको छैन । आज विभिन्न क्षेत्रमा हुरीबतास र चट्याङसहित असिनापानीसमेत परेको थियो ।

यसअघि हिजो चितवनमा १२ घण्टामै १२६ मिलीमिटर वर्षा भएको थियो । विभागले आज साँझ जारी गरेको बुलेटिनमा हाल नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ ।

गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थान तथा बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै भोलि शनिबार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update