Mero Chitwan
चितवन-२ मा रवि लामिछानेको ह्याट्रिक, ३ मा सोविता गौतम विजयी

चितवन-चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुनुभएको छ । उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा (एमाले)का अस्मिन घिमिरेले छ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले चार हजार ४६९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

लामिछानेले यसअघि विसं २०८० मा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गर्नुभएको थियो । यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गर्नुभएको थियो ।

यस निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार १५२ मतदाता भएकामा मत ८७ हजार २२१ खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २३  जना प्रत्यासी हुनुहुन्थ्यो ।

यसैगरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम विजयी हुनुभएको छ । उहाँले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । 

सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका रेनु दाहालले २० हजार ६१५,  नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले आठ हजार ३४४ र नेकपा (एमाले)का शङ्करराज थपलियाले पाँच हजार चार मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापामगरले एक हजार २२६ मत प्राप्त गर्नुभयो । 

यस क्षेत्रमा कूल एक लाख ५५ हजार २१२ मतदाता रहेकामा एक लाख ३३ मत खसेको थियो । जसमध्ये तीन हजार ३७५ मत बदर भएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update