Mero Chitwan
चितवनका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन-  यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार निर्वाचन प्रहरी, नेपाल प्रहरीसहित निर्वाचन कर्मचारी र मतदानका लागि आवश्यक सामग्री मतदानस्थल तथा केन्द्रमा पुगेका हुन् ।
 
निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जिल्लाका सबै क्षेत्रमा निर्वाचनका लागि आवश्यक सामग्री र कर्मचारी पुगेको बताउनुभयो । मतदानका लागि आवश्यक ५१ प्रकारका सामग्रीसहित सम्बद्ध अधिकारीहरू त्यहाँ पुगेका उहाँले जनाकारी दिनुभयो । 

जिल्लामा ४९४ मतदान केन्द्र र १६२ मतदानस्थल रहेका छन् । सबै मतदान केन्द्रमा मतदानस्थल निर्माणको काम सुरु गरिएको कार्कीले जानकारी दिनुभयो । यहाँ निर्वाचन सम्पन्न गर्नका लागि दुई हजार ९६४ जना कर्मचारी खटिएका छन् । यससँगै जिल्ला सुरक्षा समितिले सुरक्षा विश्लेषण अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार मतदानस्थललाई तीन वर्गमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको र तीन वटै क्षेत्रमा मत गणनास्थल निर्माणको काम सम्पन्न गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी आर्यालका अनुसार चितवन क्षेत्र नं १ मा खैरहनी माध्यामिक विद्यालय, क्षेत्र नं २ मा उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्र र क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालयको भवनमा मतगणनास्थल तय गरिएको छ । मत गणनास्थलमा सिसी टिभी जडान र तारजाली राख्ने काम सकिएको उहाँले जानकारी दिनुभयो ।  

प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update