Mero Chitwan
इजरायल, इरानसहित मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन परराष्ट्रकाे आग्रह

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकका लागि सावधानी अपनाउन अनुरोध गर्दै ६ बुँदे निर्देशन जारी गरेको छ ।

इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षा सल्लाह तथा निर्देशन कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन, आवश्यक सावधानी अपनाउन र आफ्नो बसोबास क्षेत्रका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ ।

इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमति बिना यात्रा नगर्न पनि मन्त्रालयले भनेको छ । काठमाडौंस्थित मन्त्रालय, तेल अभिभस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन, इजरायल वा इरान भ्रमणको योजना बनाइरहेका नेपाली नागरिकले दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा योजना स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मध्यपूर्वका अन्य देशहरूमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकले पनि त्यहाँका सम्बन्धित निकायहरूले सुझाएका सावधानीका उपाय पालना गर्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । यसैगरी, इजरायलस्थित नेपाली दूतावासले पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 

दूतावासले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षासम्बन्धी सबै निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । विशेषगरी इजरायली निकायहरू तथा होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा परामर्श र निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न दूतावासले आग्रह गरेको छ ।

दूतावासले सकेसम्म घरभित्रै बस्न, सधैं सतर्क रहन, आवश्यक सावधानी अपनाउन तथा आफू बसोबास गरिरहेको क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ। दूतावासले नेपाली नागरिकलाई नजिकै तोकिएका सुरक्षित आश्रयस्थल (सेल्टर) वा सुरक्षित स्थानहरूको आसपासमै रहन विशेष आग्रह गरेको छ।

यता, कतारले पनि आपतकालीन सूचना जारी गर्दै अत्यावश्यक काम नभइ बाहिर ननिस्कन स्थानीय नागरिक र आप्रवासी कामदारलाई आग्रह गरेको छ । कतारमा ४ लाख नेपाली कार्यरत छन् । कतारको रक्षा मन्त्रालयले 'देशको भूभागलाई लक्षित गरी गरिएका केही आक्रमण प्रयास विफल पारिएको' जनाएको छ।

यसैगरी बहराइन तथा अबुधाबीस्थित नेपाली दूतावासहरूले पनि नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन र स्थानीय सरकारले जारी गरेका सुरक्षा मार्गदर्शन पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  २३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update