Mero Chitwan
अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ : पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्माको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ) केन्द्रहरू चलाउने सङ्गठित आपराधिक समूहको फन्दामा परी बन्धक बनाइनेक्रम बढेको छ ।

 कम्प्युटरसम्बन्धी ज्ञान भएका, युएई, मलेसियालगायत मुलुकमा पहिले नै वैदेशिक रोजगारीको अनुभव भएका नेपालीलाई आकर्षक तलब पाइने कामको प्रलोभन देखाई यस्ता ठगी केन्द्रमा लैजाने गरेको देखिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२२ देखि हालसम्म विभिन्न मितिमा थाइल्याण्ड तथा म्यान्मामा रहेका नेपाली राजदूतावासले ती राजदूतावास रहेका मुलुकका सरकारको सहयोग र समन्वयमा त्यस्ता स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएको पीडित नेपालीको कूल सङ्ख्या ३९२ रहेको छ । त्यस्तै हाल ३०९ नेपाली नागरिक उद्धारका लागि प्रक्रियामा रहेका छन् ।

 यस्तै, हाल म्यान्माको आदालतले १८ जना नेपालीहरूलाई गैरकानुनी रूपमा प्रवेश गरेको भनेर एक वर्ष कैद सयाज सुनाएको छ । सो सम्बन्धमा याङ्गुनस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्माको सरकारी पदाधिकारीहरूसँग भेटघाट गरी छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ । 

 यसैगरी, उक्त मुलुकहरूका स्क्याम केन्द्रमा रहेका उद्धार गर्नुपर्ने नेपालीहरूको अनुमानित सङ्ख्या हजारौँ हुनसक्ने मन्त्रालयले जनाएको छ ।

 परराष्ट्र मन्त्रालयका अनुसार त्यस्ता व्यक्तिहरूलाई ती केन्द्रहरूमा सुरक्षा गार्ड, अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगीलगायत क्रियाकलापमा जबर्जस्ती लगाउने गरिएको छ ।

उनीहरूलाई कामको लक्ष्य दिइने र सो पूरा गर्न नसकेको अवस्थामा विभिन्न तरिकाहरू अपनाइ शोषण गर्ने गरिएको पाइएको छ । लक्ष्य पूरा गर्न नसकेको अवस्थामा उनीहरूलाई कुनै अपराध गरेको झुटो आरोप लगाई चरम आर्थिक तथा शारीरिक शोषण गर्ने, निजहरूको सट्टामा अर्को व्यक्तिलाई नल्याएसम्म निजहरूले सो स्थानबाट छुटकारा नदिने गरेको पाइएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस्तै राहदानी खोसेर हिँडडुलमा प्रतिबन्ध लगाउने, बन्धक बनाई छुटकाराका लागि ठूलो रकम माग गर्ने, त्यस्तो रकम नतिरेमा गम्भीर शारीरिक तथा मानसिक यातना दिने गरिएकोसमेत पाइएको उहाँले बताउनुभयो । “अनलाइन ठगी केन्द्रहरूमा फसेका नेपाली नागरिकहरूको उद्धार गरी नेपाल फर्काउनका लागि थाइल्याण्ड तथा म्यान्मामा रहेका नेपाली राजदूतावासमार्फत यस मन्त्रालयले सक्रिय रूपमा निरन्तर पहल गरिरहेको छ”, प्रवक्ता पौडेलले भन्नुभयो, “त्यस्ता कार्यलाई निरूत्साहन गर्न सम्बन्धित देशका सरकारी निकायसँग समन्वय पनि गरिरहेका छौँ । साथै जनचेतनाका लागि समय समयमा ट्राभल एडभाइजरी तथा सूचनाहरू जारी गर्ने गरेका छौँ ।”

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  २३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update