Mero Chitwan
त्रिशूलीमा बस खस्दा १८ यात्रुको घटनास्थलमै मृत्यु, २५ जना घाइते

चितवन। पोखराबाट काठमाडौं जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइतेमध्ये २४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने एक जनाको धादिङमा नै उपचार भइरहेको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट आज बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो । जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला रहेका छन् । अन्य २५ घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिनुभयो । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

उद्दारमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी सहभागी भएका थिए । घटना राति भएकोले उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update