
काठमाडौं- नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनीहरु दुवै सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट-वे भ्रष्टाचार प्रकरणमा मुछिएका छन् ।
२०८० असोज १५ मा अख्तियारले सुनीलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
२०८० वैशाखमा विकलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैयाँ माग दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि दुवै निलम्बनमा थिए । अख्तियारको टोलीले आज (बुधबार) दुवैलाई पक्राउ गरी आफ्नो हिरासत राखेको छ । अख्तियारले सुनील र विकलका घरहरुमा छापा मारेर कागजात नियन्त्रणमा लिएको पनि अख्तियार प्रमुख प्रेम राईले जानकारी दिए ।