Mero Chitwan
निर्वाचनको मैदानमा पत्रकार 
रौतहट ४ बाट उम्मेदवारी दर्ता गराउँदै पत्रकार ऋषि धमला ।

काठमाडौँ-आसन्न प्रतिधिसभा सदस्य निर्वाचनका लागि दर्जन बढी पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । यसअघि जस्तै विभिन्न पार्टीका तर्फबाट आमसञ्चारकर्मीले उम्मेदवारी दिएसँगै मुलुकको राजनीतिमा सञ्चारकर्मीको प्रत्यक्ष सहभागी हुनेक्रमले निरन्तरता पाएको छ । 

 पत्रकार एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–२ मा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ भने चर्चित टेलिभिजन प्रस्तोता ऋषि धमला आमजनता पार्टीबाट रौतहट–४ मा उम्मेदवार बन्नुभएको छ । 

 नेपाली कांग्रेसका तर्फबाट भक्तपुर–२ मा पत्रकार कविर राणा र रास्वपाबाट राजीव खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जुम्लामा मनऋषि धिताल र सोही दलबाट भक्तपुर–२ मा जन्मदेव जैसी, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हुम्लामा डा.दीपेन्द्र रोकाय र सोही पार्टीको काठमाडौँ क्षेत्र १० बाट रूपा महर्जन, नेपाली कांग्रेसका तर्फबाट दोलखामा अजयबाबु सिवाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ–६ मा उद्धवराज भेटवाल र झापा–२ मा राप्रपाका तर्फबाट स्वागत नेपालले उम्मेदवारी दिनुभएको छ । यसैगरी स्वतन्त्र उम्मेदवारका हैसियतले पत्रकार दीवाकर साहले धनुषा ३ बाट प्रतिस्पर्धा  गर्दै हुनुहुन्छ ।
 पत्रकारिता पृष्टभूमिबाट राजनीतिमा होमिनुभएका नेकपा (एमाले) का नेता सूर्यबहादुर थापा, क्षेत्री प्युठान, नेपाली कांग्रेसका नेता नैनसिंह महर डडेल्धुरा र उज्जवल बरालले  सिन्धुली जिल्लामा उम्मेदवारी दिनुभएको छ । यसैगरी, पत्रकारिता पृष्ठभूमिबाट मुलुकको राजनीतिमा उदाउनुभएका  रास्वपाका सभापति रवि लामिछाने, सोही पार्टीका दीपक बोहरा, सोविता गौतम र निशा डाँगी पनि उम्मेदवार बन्नुभएको छ । लामिछाने, गौतम र डाँगी यसअघिको निर्वाचनमा प्रतिनिधिसभामा विजयी हुनुभएको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update