रत्ननगर- पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा यही पुस २५ गतेदेखि सुरु हुने रत्ननगर महोत्सवको १३ औँ संस्करणमा हरेक दिन रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
रगत अभावको समस्या समाधान गर्न र रक्तदानसम्बन्धी जनचेतना फैलाउन ब्लड डोनर्स सोसाइटी रत्ननगर कमिटीले महोत्सव अवधिभर महोत्सव परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । उक्त कार्यक्रम २६ पुसदेखि माघ ५ गतेसम्म टिकौली चौरमा सञ्चालन हुने कमिटीका संस्थापक अध्यक्ष रमेश नेपालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रगत आफूलाई चाहिँदा मात्र होइन, अरुलाई पनि दिने बानीको विकास गर्नुपर्छ । यस कार्यक्रममार्फत चितवनका नागरिकलाई रगत दिन उत्प्रेरित गर्ने उद्देश्य राखिएको छ ।”
सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले रत्ननगर समितिले महोत्सवस्थलमा यस किसिमको रचनात्मक काम गर्न लागेकामा प्रशंसा व्यक्त गर्दै भन्नुभयो, “युवाहरू नियमित रूपमा रक्तदान गर्न उत्प्रेरित हुनुपर्छ । हरेक तीन महिनामा रक्तदान गर्दा स्वास्थ्यमा पनि लाभ पुग्छ, तर युवाहरुमा जनचेतना जगाउन आवश्यक छ ।”
उहाँले आगामी माघ १७ र १८ गते नवलपुरमा रक्तदान कार्यक्रम आयोजना गरी रक्तदान महोत्सवको रूपमा मनाउँदै एक हजार आठ पिन्ट रगत सङ्कलन गर्ने उद्देश्य राखिएको बताउनुभयो । गत वर्ष भरतपुरमा आयोजित रक्तदान महोत्सवमा एक हजार ७०० पिन्ट रगत सङ्कलन गरिएको थियो ।
रक्तदान कार्यक्रमका लागि प्रादेशीक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग रहनेछ भने महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य सङ्घ र रत्ननगर नगरपालिकाले सहकार्य गर्ने आयोजकले जनाएको छ ।
रत्ननगर महोत्सव विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदैआएको छ । यस १३औँ संस्करणमा चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका करिब ५०० स्टल रहने आयोजकले जनाएको छ ।


