काठमाडौं। देशभर चिसो मौसम तीव्र रूपमा बढ्दै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शीतलहर, हुस्सु, कुहिरो र हिमपातबाट जोगिन सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले चिसोका कारण स्वास्थ्य जोखिम बढ्दै गएको भन्दै विशेष सावधानी आवश्यक रहेको जनाएको छ ।
मन्त्रालयका अनुसार चिसो मौसममा रुघाखोकी, ज्वरो, दम, सास फेर्न गाह्रो हुने समस्या र हाइपोथर्मियाका बिरामी उल्लेख्य रूपमा बढ्ने गरेका छन् । जाडोयाममा शरीरको तापक्रम असामान्य रूपमा घट्दा हुने हाइपोथर्मिया विशेषगरी वृद्धवृद्धा, नवजात शिशु, बालबालिका, गर्भवती महिला तथा दीर्घ रोगीका लागि ज्यानघातक बन्न सक्ने मन्त्रालयको चेतावनी छ ।
नेपालमा हरेक वर्ष जाडो मौसममा शीतलहरका कारण मृत्यु हुने क्रम दोहोरिँदै आएको छ । स्वास्थ्य मन्त्रालय र विपद् व्यवस्थापनसम्बन्धी अभिलेखअनुसार विगतका वर्षहरूमा तराई र पहाडी जिल्लामा शीतलहरकै कारण दर्जनौँ व्यक्तिको ज्यान गएको तथ्यांक छ । सन् २०१९ र २०२२ को जाडोयाममा मात्रै तराईका विभिन्न जिल्लामा शीतलहर र अत्यधिक चिसोका कारण बालबालिका र वृद्धवृद्धाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ ।
विशेषगरी गरिबी, न्यानो कपडाको अभाव, असुरक्षित आवास र पर्याप्त स्वास्थ्य सेवामा पहुँच नपुगेका समुदाय चिसोबाट बढी प्रभावित हुँदै आएका छन् । विगतमा तराईका जिल्लाहरू सर्लाही, महोत्तरी, सिराहा, धनुषा र रौतहटमा शीतलहरका कारण मानिसहरूको मृत्यु र गम्भीर बिरामी हुने घटनाले राज्यको पूर्वतयारीमाथि प्रश्न उठाउँदै आएको छ ।
यस वर्ष पनि देशका उच्च पहाडी क्षेत्रमा हिमपात र तराईमा बाक्लो कुहिरो तथा शीतलहर सक्रिय भएपछि स्वास्थ्य जोखिम बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अत्यावश्यक काम बाहेक चिसोमा बाहिर ननिस्कन, न्यानो लुगा लगाउन, आगो ताप्दा र हिटर वा गिजर प्रयोग गर्दा अत्यन्त सावधानी अपनाउन आग्रह गरेको छ । चिसोबाट जोगिन धूलो–धुवाँबाट टाढा रहन, पोषणयुक्त सन्तुलित आहार लिन, भिटामिन ‘सी’ युक्त फलफूल खान र प्रशस्त मात्रामा झोलिलो पदार्थ सेवन गर्न पनि मन्त्रालयले सुझाव दिएको छ । साथै, चिसोका कारण स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा ‘हेलो स्वास्थ्य’ कल सेन्टर १११५ मा फोन गरेर परामर्श लिन सकिने व्यवस्था रहेको जनाएको छ ।

