काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि मंगलबार १२ बजेदेखि मतदान हुने भएको छ ।
काठमाडौंको भृकुटीभण्डपमा जारी महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । दुबै समूहबाट अलगअलग प्यानल बनेका छन् । दुबै समूहले साँझसम्म आफ्ना उम्मेदवारका पक्षमा लिष्ट बनाएर बाँड्नेदेखि उम्मेदवार आफैं प्रतिनिधिसँग मत माग्नेसम्मका काम गरेका छन् ।
अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समूहको उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरू बराल, पृथ्वी सुब्बा गुरूङ रहनुभएको छ । ओली समूहबाटै महासचिवका आकांक्षी प्रदीप ज्ञवालीले भने केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिनुभएको छ ।
उहाँलाई ओली समूहको उपाध्यक्षमा राखिएको थियो । तर त्यसलाई उहाँले अस्वीकार गर्नुभयो । महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याइएको छ । यस्तै, उपमहासचिवमा विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठलाई उम्मेदवार बनाइएको छ । पहिले सचिवमा राखिएका भट्टले उक्त पद अस्वीकार गरेपछि उपमहासचिवमा राखिएका भानुभक्त ढकाललाई सचिवमा समेटेर भट्टलाई थपिएको हो ।
९ सचिव मध्ये बाँकी ८ मा पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, खगराज अधिकारी र महेश बस्नेत छन् । पदाधिकारीका आंकाक्षी धेरै भएपछि केही नेताले ओली समूह छाडेका छन् । यसैगरी ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, अरुण नेपाल, बिन्दा पाण्डे र परशुराम मेघी गुरुङ उम्मेदवार बन्नुभएको छ। महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिनुभएको छ । उपमहासचिवमा योगेश भट्टराई,बैजनाथ चौधरीले उम्मेदवारी परेको छ ।
सचिव लागि पोखरेल समूहबाट विनोद ढकाल, ठाकुर गैरे, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा,रचना खड्का र पुरुशोत्तम पौडेलले उम्मेदवारी दिनुभएको छ । ओली समूहबाट असन्तुष्ट भएर बाहिरिएका नेतालाई पोखरेल समूहले आफ्नो पक्षमा समेट्ने कसरत गरिरहेको छ ।


