चितवनकेन्द्रित रही प्रकाशन हुँदै आएको मेरो चितवन डट कम आज मंसिर २९ गते दोस्रो वर्षमा प्रवेश गरेको छ। यसले छोटो समयमै स्थानीय आवाजलाई राष्ट्रिय बहससँग जोड्न सफल भएको छ । नेपाली पत्रकारिताको वर्तमान जटिल अवस्थाका बाबजूद यो नागरिकको सही र तथ्यपूर्ण समाचार पाउने अधिकारका लागि निरन्तर प्रतिबद्ध रही अगाडि बढिरहेको छ ।
नेपालमा लोकतन्त्र स्थापनासँगै पत्रकारिताले स्वतन्त्रताको स्वाद पाएको भए पनि आजको अवस्था त्यति सहज छैन। राजनीतिक दबाब, आर्थिक अस्थिरता, विज्ञापनको असमान पहुँच, सामाजिक सञ्जालबाट फैलिने गलत सूचनाजस्ता चुनौतीबीच पत्रकारिता आफ्नो मूल धर्म—सत्य, निष्पक्षता र जनउत्तरदायित्वबाट विचलित हुने जोखिम बढ्दो छ। यस्ता अवस्थामा पत्रकारिताको भूमिका केवल समाचार सम्प्रेषणमा सीमित रहँदैन, बरु समाजको चेतना जगाउने, सत्तालाई प्रश्न गर्ने र नागरिकको आवाज बुलन्द बनाउने जिम्मेवारी अझ महत्वपूर्ण बन्छ।
प्रेस स्वतन्त्रताविना लोकतन्त्रको कल्पना पनि गर्न सकिँदैन। स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो, जसले शासन व्यवस्थालाई पारदर्शी बनाउँछ र जनताको अधिकारको रक्षा गर्छ। तर, आज पनि पत्रकार तथा सञ्चारमाध्यममाथि दबाब तथा आत्मसेन्सरसिप चिन्ताको विषय हो। प्रेस स्वतन्त्रताको रक्षा गर्नु भनेको पत्रकारको मात्र होइन, समग्र लोकतान्त्रिक समाजको साझा दायित्व हो।
डिजिटल युगले पत्रकारितालाई छिटो, पहुँचयोग्य र प्रभावशाली बनाएको छ। तर, यही गतिले पुष्टिन नभएका समाचार, सनसनीखेज शीर्षक र भाइरल संस्कृतिलाई पनि प्रश्रय दिएको छ। यस सन्दर्भमा स्थानीय केन्द्रित सञ्चार माध्यमहरूले तथ्यमा आधारित, जिम्मेवार र जनमुखी पत्रकारिता गरेर उदाहरण प्रस्तुत गर्नु आजको आवश्यकता हो। स्थानीय मुद्दा, पीडा र सम्भावनालाई उजागर गर्नु नै यस्ता माध्यमको सबैभन्दा ठूलो शक्ति हो।
दोस्रो वार्षिकोत्सवको यो अवसरमा हामी पत्रकारितालाई सार्वजनिक सेवाको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । सत्यको पक्षमा उभिने, शक्तिको दुरुपयोगको विरोध गर्ने र चितवन तथा आसपासका नागरिकका आवाजलाई निर्भीकतापूर्वक उठाउने हाम्रो यात्रा निरन्तर रहनेछ।
अन्त्यमा, मेरो चितवन डट कम को दुई वर्षे यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सबैप्रति हार्दिक आभार। आगामी दिनमा अझ परिपक्व, उत्तरदायी र प्रभावकारी पत्रकारितामार्फत लोकतन्त्र सुदृढ बनाउने हाम्रो प्रयास जारी रहनेछ।
सम्पादक


