Mero Chitwan
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ । बर्दियाबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रुवाहक बस लमही नगरपालिका-९ रिहार नजिकै दुर्घटना हुँदा बर्दिया गेरुवा गाउँपालिका-१ का ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका  युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिए ।

४७ जना यात्रु सवार बस बर्दियादेखि काठमाडौंतर्फ जाँदै गरेको बस गएराति ११ बजे दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीको भनाइ छ । बसको अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले २ जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।

दुई साता अघि मात्रै दाङको भालुबाङमा पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update