Mero Chitwan
हेटाैँडाबाट गोलाघाटसम्म राप्ती नदी सरसफाइ अभियान

चितवन-हेटाैँडाबाट गोलाघाटसम्म राप्ती नदी सरसफाइ महाअभियान सञ्चालन गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवनले तेस्रो राप्ती नदी सरसफाइ दिवसका अवसरमा नदीको मुहानदेखि नारायणीको सङ्गमस्थल गोलाघाटसम्म अभियान सञ्चालन गरेको हो ।
 
विगत तीन वर्षदेखि मङ्सिर १ गते राप्ती नदी दिवस मनाउँदै आएको छ । महाअभियानका संयोजक अपिल घिमिरेका अनुसार मकवानपुरको भैँसेबाट प्रारम्भ गरी हेटौँडा हुँदै चितवनको गोलाघाटसम्म ‘राप्ती नदी सरसफाइ महाअभियान’ सञ्चालन गरिएको हो । 

 सरसफाइ महाअभियान मकवानपुर र चितवन जिल्लाको राप्ती किनारमा विभिन्न १६ स्थानमा आज बिहान ८ः०० बजे एकैसाथ सुरु गरिएको थियो । चितवनको १३ स्थान र मकवानपुरको तीन स्थानबाट नदी संरक्षणमा लागेका सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका व्यक्तिको उपस्थितिमा सरसफाइ गरिएको हो ।  

‘राप्ती नदीको शुद्धता हाम्रो प्रतिबद्धता, राप्ती नदीको जलाधार जन्तुहरूको बाँच्ने आधार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।  विगत ११ वर्षदेखि तटीय क्षेत्रका स्थानीयहरू तटीय स्वच्छता, नदी संरक्षण, नदी अधिकार तथा यहाँ आश्रित जीवजन्तुहरूको हितका लागि निरन्तर पैरवी गर्दै आएका छन् । यो अभियानमा हालसम्म स्वयम्सेवीका रूपमा २७ हजार जोडिनुभएको छ भने हजारौँ टन फोहर व्यवस्थापन गरिसकेको घिमिरेले जानकारी दिनुभयो ।
 
साथै, राप्ती नदी पर्यटकीय क्षेत्रसमेत भएकाले नदी र यस आसपासको सिमसार तथा सामुदायिक वन क्षेत्रमा पनि सरसफाइ कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । यसले नदी किनारको सौन्दर्य, जैविक विविधता र स्थानीय पर्यटकीय आकर्षणलाई सुरक्षित राख्न महत्वपूर्ण योगदान पु¥याएको उहाँले विश्वास व्यक्त गर्नुभयो । 

अभियानअन्तर्गत नदी किनार तथा बस्ती आसपासका क्षेत्रहरूको सरसफाइ, फोहर व्यवस्थापन, जनचेतना कार्यक्रम, वृक्षरोपण तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको उहाँले बताउनुभयो ।

राप्ती नदीले दुर्लभ जलचरहरूको बासस्थान मात्र नभई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जका बाघ, भालु, गैँडा, हात्ती, कछुवा, घडियाल जस्ता सङ्कटापन्न वन्यजन्तुहरूको जीवन र जैविक विविधताको संरक्षणमा महत्त्व बोकेको छ । 

हाल उद्योग, होटल तथा व्यावसायिक क्षेत्रबाट निस्कने फोहर र केही पालिकाहरूले नदी किनारमा फोहर ‘डम्पिङ’ गर्ने अभ्यासले नदी तटीय क्षेत्र फोहोर, प्रदूषित र पारिस्थितिक रूपमा कमजोर बनाएको महाअभियानका संयोजक घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update